मकवानपुरमा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरमा ९ सदस्य समिति गठन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सदस्य संख्या निर्धारण गर्ने सन्दर्भमा बुधबार भएको सातौं बिशेष जिल्ला सभाले नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

सभाका जेष्ठ सदस्य एवम् ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा भएको जिल्ला सभाले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन आयोगमा अनुरोध गरी पठाउने निर्णय गरेको जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । यसअघि पनि जिल्ला समन्वय समिति नौ सदस्यीय रहेको थियो । प्रमुख÷उपाप्रमुख र सात जना सदस्य समितिमा रहनेछन् ।

संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था’ उल्लेख गरिएको छ । जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूका बीचमा समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था छ ।

जिल्ला सभामा एक जना प्रमुख एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको छ । यसरी उम्मेदवार हुने व्यक्ति पालिका सदस्य हुनुपर्नेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुने संविधानमा उल्लेख गरिएको छ ।

मुख्य समाचार