मकवानपुरमा ६ महिनामा ३३ मानव अधिकार उल्लङ्घनका घटना

हेटौंडा । मकवानपुर प्रहरीले गत बैशाख ५ गते ६२ वर्षीय बृद्धलाई प्रकाउ गर्यो । ८ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका ८ साततलेका उनलाई प्रकाउ गरेको हो । उनले ८ वर्षीया नातिनीलाई ०७८ चैत्र २ गतदेखि ०७९ वैशाख १ गतेसम्म पटकपटक बलात्कार गरेको भनी पीडितले उजुरी बयान दिएकी छिन । प्रहरीले ६२ वर्षीय बृद्धलाई गिरफ्तार गरि हाडनाता करणीमा जिल्ला अदालत मकवानपुरमा उजुरी दर्ता गरेको छ ।

यी र यस्ता मानव अधिकार उल्लङ्घनका घटना मकवानपुर जिल्लामा ३३ वटा घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हेटौंडामा एक कार्यक्रमका विच जानकारी गराएको हो ।

इन्सेक जिल्ला प्रतिनिधिका अनुसार जिल्लामा सन् २०२२ को जनवरी–जुन महिनासम्मको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३३ वटा घटना भएको छ ।

जसमध्ये २२ जना महिला ११ जना पुरुष गरी ३३ जना पीडित भए । बाल अधिकारका घटनामा नौ जना बालिका पीडित भएकोमा आठ जना बलात्कारका घटना र एक नवजात शिशु हत्याको घटनामा पीडित भएका छन् ।

यसैगरी विद्यालयमा शिक्षकबाटै सात जना बालिका यौन दुरुपयोगका घटनामा पीडित भएको घटना पनि इन्सेकले उल्लेख गरेको छ ।

महिला अधिकारका घटनामा १० जना पीडित भएकोमा सात जना बलात्कार र तीन जना बहुबिबाहको घटनामा पीडित भएको इन्सेकले बताएको छ ।

यस अवधिमा पाँच वटा हत्याका घटना भएका छन् । जसमा एक जना महिला र चार जना पुरुष छन् । यस्तै ९ ओटा हत्या प्रयासका घटनामा दुई जना महिला र सात जना पुरुष पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।

६ महिनाको अवधिमा परिवारजनबाट तीन जना बालिका सहित चार ओटा बलात्कार, एक नवजात शिशु ९छोरी० सहित पाँच ओटा हत्याको घटना इन्सेकमा अभिलेख भएको जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले बताए ।

इन्सेकको अभिलेखालयमा गत वर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ वटा घटनामा अन्य पक्षबाट ७८ जना पडित भएका थिए भने सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ ।

नागरिकको अधिकारलाई राज्यले सुनिश्चित गर्छः राज्यमन्त्री नेपाली

बागमती प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नागरिकको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन्

इन्सेकले मंगलवार(आज)आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नेपालीले संविधानले प्रदान गरेको मौलिक अधिकार प्राप्तिको लागि नागरिककले अझै लडाँई लड्नुपर्ने अवस्था रहेको भन्दै उनले प्रदेश सरकार नागरिकको अधिकार सुनिश्चित गराउने गरी अघि बढेको बताइन् ।

कार्यक्रममा गैसस महासङ्घ बागमती प्रदेश समिति अध्यक्ष आरती पाठकले इन्सेकले गर्दै आएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेखले समाजमा महिला तथा बालबालिकाको अवस्था कस्तो छ भन्ने देखाउनुका साथै यसले राज्य र समाजलाई जिम्मेवार बन्न मद्दत पुग्ने बताइन् ।

इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेकले मानव अधिकारका घटनाहरूको अभिलेख राख्ने कार्यसँगै मकवानपुरको दुईवटा स्थानीय पालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा काम गर्दै आएको बताए ।

इन्सेकले राज्यले संविधानमा व्यवस्था गरेको मौलिक अधिकार कार्यान्वयनका लागि मानव अधिकारका सवालमा राज्यलाई जवाफदेहीता सहित जिम्मेवार बनाउँदै आएको उनले बताए ।

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई इन्सेकले दस्तावेजको रूपमा प्रकाशित गर्ने हुनाले समाजको अवस्थाको बारेमा गरिने अनुसन्धानमा मद्दत पुग्ने बताए ।

कार्यक्रममा इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समुह हेटौँडा उपमहानगरपालिकाकी संयोजक चन्द्रावती पनेरुले जिल्लामा एकमात्र रहेको सरकारी अस्पतालमा बिरामीलाई सेवा लिन सास्ती भएको भन्दै स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

अधिवक्ता केशव गौतमले इन्सेकले अभिलेख गरेको घटनाहरूको आगामी दिनमा समाजमा हुने घटनाको न्यूनिकरणमा सहयोगी भूमिका खेल्न इन्सेकलाई सुझाव दिए ।

मानव बेचबिखन विरुद्धको सञ्जालकी उपसंयोजक तथा माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले महिला बेचविखनका घटना पहिले भए पनि सार्वजनिक हुन वा प्रहरी प्रसाशनमा ढीलो गरी आउने हुँदा त्यस्ता घटनालाई पनि इन्सेकले अभिलेख गर्नु पर्ने सुझाव दिइन् ।

नेपाल मानव अधिकार सङ्गठनका मकवानपुर संयोजक तथा अधिवक्ता अप्सरा बस्नेतले बालबालिका माथि हुने यौन दुरुपयोगका घटनाका पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउन अझै नसकिएको बताइन् ।

कार्यक्रममा सहभागीहरूले विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाएको, स्वास्थ्य बीमामा उल्लेख भएका औषधीहरू अस्पतालमा नपाएको लगाएतका विषयहरूमा समेत सरोकालाहरूको ध्यानाकर्षण गराएका थिए ।-khabarbreak

मुख्य समाचार