हेटौंडाः बैठक संचालन कार्यविधि संसोधन गर्न एमालेको माग 

हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बैठक संचालन कार्यविधि संसोधन गर्नका लागि नेकपा एमालेका कार्यपालिका सदस्यहरुले माग गरेका छन् । बैठक कार्यबिधि संसोधनका विषयमा कुरा नमिलेपछि नेकपा एमालेको तर्फबाट कार्यपालिका सदस्यहरुले आजको बैठकबाट निस्कीएका छन् । बहुमत कार्यपालिका सदस्य रहेको हेटौँडा उपमहानगरपालिकामा एमालेको मागको विषयमा मेयर मिना कुमारी लामा तथा उपमेयर राजेश बानियाँ लचिलो नभएको भन्दै एमालेले बैठकबाटनै निस्कीएको हो ।

बैठक कार्यबिधि संसोधन गर्नका लागि दर्ता समेत गर्न नमानेकाले एमालेका कार्यपालिका सदस्यहरु बैठकबाट बाहिरीएको नेकपा एमाले मकवानपुरका सचिब तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले बताउनुभयो ।

१८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो । तर मागको विषयमा मेयर–उपमेय लचिलो नबनेपछि आफुहरुले वाध्य भएर बैठक बहिस्कार गर्नुपरेको वडा नंबर १५ का वडाध्यक्ष सुनिल मोक्तानले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले बैठक छाडेर गएपछि उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफलपछि नगरप्रमुख मीना कुमारी लामाले नगर परिषद्मा पेश गर्ने निर्णय गर्नुभएको जानकारी दिनुभयो । २९ सदस्यीय कार्यपालिकामध्ये नेकपा एमालेबाट निर्वाचित १८ जना कार्यपालिका सदस्य छन् ।

नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिहरुमार्फत आउनुपर्ने प्रक्रियाअनुरुप नल्याइएकोले बिमति जनाउँदै बैठक बहिष्कार गरेको नेकपा एमालेबाट निर्वाचित १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाको ५ वटा विषयगत समितिहरु गठन हुन सकेको छैन । मेयर र उपमेयरको संयोजकत्वमा रहने समितिले पनि पूर्णता पाउन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे २ अर्ब रुपैयाँ भन्दा बढीको बजेट तयार हुने प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।-janapatra

मुख्य समाचार