आजको मौसम : भारी बर्षाको सम्भावना

नेपालका थप दुई प्रदेशमा मनसुन प्रवेश गरेको छ । अहिलेसम्म देशका ६ प्रदेशमा मनसुन प्रवेश गरिसकेको मौसमविदले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ ।

नेपालको प्रदेश-१ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । आज (शनिबार) पनि देशका विभिन्न भू-भागमा बिहानदेखि पानी परिरहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिजोबाट मनसुनी वायुको प्रभाव शुरु भएको छ ।

आज दिउँसो प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश-१ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

समाचार