चर्को विवादबीच नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

मन्त्री हेरफेरको निर्णयले चर्को विवाद सिर्जना भइरहेका बेला सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज (शनिबार) पनि बस्दै छ ।

आइतबारसम्म बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

पार्टी स्थापनाको करिब आठ महिनाको अवधिमा देशव्यापी रूपमा भएका साङ्गठानिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तरक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ रणनीति तयार गरिने छ ।

पार्टीको शुक्रबार बसेको पोलिटब्युरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको थियो । केन्द्रीय कमिटीमा छलफल गरिने राजनीतिक, आर्थिक, साङ्गठानिक प्रतिवेदनमा समेत छलफल गरिएको थियो ।
प्रचार विभाग प्रमुख खतिवडाकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा पार्टी आफ्नै धरातलमा एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने विषयमा अधिकांश नेताको सुझाव आएको छ । गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने पक्षमा आफू रहेको भए पनि गठबन्धनले आफ्नो पार्टीलाई न्यायोचित व्यवहार नगरेमा आवश्यक निणर्य लिन स्वतन्त्र रहेको र परिस्थिति परिवर्तन पनि हुनसक्ने उनको भनाइ छ ।

नेकपा समाजवादीले वैठकका विभिन्न एजेण्डा तयार गरेको भए पनि पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको निणर्यले मुख्य रुपमा प्रवेश पाएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र र बाहिरका नेताहरूको घेराबन्दीमा परेका छन् ।

पार्टीकै प्रभावशाली नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घेराबन्दीमा उनी परेका हुन् । नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्वमा १० सांसदले संसदीय दलको बैठक माग गर्नु र माओवादी अध्यक्ष प्रचण्डले तत्कालै मन्त्रिपरिषद् हेरफेरमा अवरोध गर्नुले अध्यक्ष नेपाल चर्को दबाबमा परेको नेताहरूले बताएका छन् ।

मुख्य समाचार