प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं : सरकारले देशभरका प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने  भएको छ। जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय नर्सिङ तथा मिडवाइफ्री रणनीति (२०७७।०७८ देखि २०८७।८८) सार्वजनिक गरेको छ।

नेपालमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको रणनीतिअनुसार मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ।

रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ ।

स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिए। उनले सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भए अनुसारको स्वास्थ्य सेवा पुर्‍याउन राज्यले नसकेको समेत बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने समेत बताए। उनले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीतिअनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी  क्षेत्रमा जानैपर्नेमा जोड दिए।

यस्तै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवले रणनीति कार्यान्वयन गर्न सके मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सकिने बताए। उनले रणनीतिले निजी स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको बताए। ‘धेरै नर्सिङ निजी स्वास्थ्य संस्थामा काम गरिरहेका छन्, निजी क्षेत्रको पनि अनुगमन गर्ने गरी रणनीति ल्याउनुपर्छ’‚ प्रमुख विशेषज्ञ यादवले भने।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाले गुणस्तरीय नर्सिङ तथा मिडवाइफ्री जनशक्ति परिचालन गरी स्वास्थ्य सेवाको गुणस्तर र व्यावसायिकता प्रवर्धन गर्न रणनीति ल्याइएको बताइन्।

यस्तै सार्वजनिक भएको रणनीतिमा नर्सिङ सेवालाई विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको रूपमा विकास गरिने उल्लेख गरिएको छ। ‘विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्यलाई स्वास्थ्य सेवामा अभिवृद्धि गर्न विशेषज्ञ तथा विशिष्टीकृत नर्सिङ सेवाको विकास र व्यवस्था गरिनेछ’‚ रणनीतिमा उल्लेख गरिएको छ । यस्तै नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शैक्षिक संस्थाको भौतिक पूर्वाधार र जनशक्तिको न्यूनतम मापदण्डलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्ने रणनीतिमा उल्लेख गरिएको छ।

अहिले रहेका नर्सिङ जनशक्ति अपर्याप्त रहेकाले मुलुकको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने लक्ष्य रणनीतिले लिएको छ। रणनीतिमा देशको आवश्यकता र प्रक्षेपणको आधारमा नर्सिङ तथा मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ।

सङ्गठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आपूर्ति र परिचालन गर्ने रणनीतिमा उल्लेख छ। सङ्घीय संरचनाअनुरूप नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको गणना र प्रक्षेपण, अन्तरराष्ट्रिय मापदण्डअनुसार एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सोही अनुरूप सबै सरकारी तथा निजी शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीतिमा उल्लेख छ।

अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमि ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन्।

मुख्य समाचार