इदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्।

उनले इद उल अज्हा (बकर इद) संयम, धैर्य, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुशी, सद्भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छिन्।

‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको सुन्दर फूलबारीको रूपमा रहेको छ। यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस्ता चाडपर्वको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु।’

इदकै अवसरमा शुभकामना  दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले सम्पूर्ण इस्लाम धर्मावलम्बीको् सुख, शान्ति, समृद्धिको कामना व्यक्त गरेका छन्। उनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन्। उनले यो पर्वले सबै नेपालीलाई मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्वर्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन्।

मुख्य समाचार