किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग 

प्रतिनिधि सभाको आज साेमवार बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।

सांसद विमला विश्वकर्माले किसानले मल, बिउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सांसद विष्णु शर्माले सरकारले मङ्सिर–पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताउनुभयो ।

सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बिउ सकिएको र नयाँ बिउ देशभर पुर्‍याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताउनुभयो । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको बताउनुभयो ।

सांसद सरलाकुमारी यादवले सरकारले आउँदाे आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताउनुभयो । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताउनुभयो ।

सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भू–भागलाई कोसी कटानले क्षतविक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सांसद लक्ष्मीकुमारी चौधरीले बलात्कारका घटनामा सत्य–तथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गका पुल २०६८ सालमा ठेक्का भएकाेमा अझै ५० प्रतिशत नसकिएकाेले निर्माण कम्पनीलाई कारबाहीको माग गर्नुभयो । सांसद लीलादेवी सिटौला (गौतम) ले नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने, केन्द्रमा पाँच/छ मन्त्रालय राख्नुपर्ने र विकासको पुँजी विकेन्द्रीकृत गर्नुपर्ने बताउनुभयो ।

सांसद विद्या भट्टराईले प्राध्यापक र सहप्राध्यापकको अन्तवार्ता एक वर्षसम्म नहुँदा शिक्षामा सुधार नआउने उल्लेख गर्नुभयो । सांसद बीनाकुमारी श्रेष्ठले दक्षिणकाली क्षेत्रमा जथाभाबी उत्खनन हुँदा पहिरोको जोखिम रहेकाले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सांसद वृन्दा पाण्डेले काठमाण्डाैलगायतका सहरी क्षेत्रमा फोहर बढिरहेको र अशुद्ध पानीका कारण हैजा फैलिरहेको बताउनुभयो ।

सांसद विशाल भट्टराईले बूढीगङ्गामा पहिले विना कारण चुनाव राेकिएको र अहिले एमालेकै उम्मेदवार विजयी भएको बताउनुभयो । सांसद शक्तिबहादुर बस्नेतले शिक्षामा सरकारकाे लगानी कम भएको र भएको लगानी पनि सदुपयाेग नभएको औँल्याउनुभयो ।

सांसद डा. शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय सभामा सर्वाेच्चमा विचाराधीन मुद्दामा छलफल भइरहेकाले त्यसो हुनु नहुने उल्लेख गर्नुभयो ।

सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक सङ्कटग्रस्त घोषणा भए पनि सरकारले नागरिकलाई त्यसबाट मुक्त बनाउन नसकेको बताउनुभयो । सांसद सत्य पहाडीले डोल्पाको दुनै पहिराेका कारण जोखिममा रहेको र त्यसको व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उल्लेख गर्नुभयो ।

सांसद सरवत आरा खानमले सरकारले इदमा बिदा दिएर मुस्लिम धर्मावलम्बीलाई देशप्रति अपनत्वको महसुस गराएको बताउनुभयो । सांसद सीताराम महतोले इटहरी उपमहानगरपालिकामा शिक्षा र स्वास्थ्यमा सुधारको आवश्यकता औँल्याउनुभयो । सांसद हिरा गुरुङले भारत र चीनमा कोभिड सङ्क्रमण बढिरहेकाले सरकारको तयारी अघि बढाउनुपर्ने बताउनुभयो ।

मुख्य समाचार