बागमती प्रदेशसभा बैठकबाट पाँच वटा अध्यादेश पारित 

हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट पाँच वटा अध्यादेश पारित गरिएको छ । प्रदेश सरकारले पहिले ल्याएका पाँच वटा अध्यादेश पारित गरिएको हो । बागमती प्रदेशको आजको बैठकले ५ वटा अध्यादेश पारित गरेको हो । प्रदेशसभा बैठकले ४ वटा अध्यादेश सर्वसम्मतले पारित गरेको छ भने एउटा अध्यादेश बहुमतले पारित गरेको छ ।

बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरेको हो ।

यसैगरी, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, युवा तथा खेलकुद मन्त्री श्री रत्न प्रसाद ढकालका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ‘प्रदेश युवा परिषद् ऐन, २०७६’ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरेका थिए ।

बैठकामा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले, केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए भने शून्य समयको कार्यक्रममा सांसदहरुले आफ्नो धारणा राखेका थिए । शून्य समयमा सत्तापक्षका ५ जना सांसदहरुले आफ्नो धारणा राखेका थिए भने प्रतिपक्षका ७ जनाले धारणा राखेका थिए ।

प्रदेश समाचार बागमती प्रदेश