मकवानपुरगढीमा कर छली गरेर नदीजन्य पदार्थ निकासी भइरहेको खुलासा 


हेटौंडा– मकवानपुरगढीमा फेरि, सामरी खोलालाई कमाउ धन्दा बनाउने गिरोह सक्रिय भएको पर्दाफास भएको छ । नदीजन्य पदार्थ कर छलेर अवैध रुपमा ओसारपसार भइरहेको घटना बाहिरिएको हो । नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले मंगलबार ध्यानाकर्षण गराउँदै सामरी खोलाबाट अवैध तरिकाले नदीजन्य पदार्थ निकासी भइरहेको खुलासा गरेको छ ।

एमालेले कर छली गरेर नदीजन्य पदार्थ निकासी भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनमार्फत अध्यक्ष दोर्जे लामा स्याङ्तानको ध्यानाकर्षण गराएको हो । अध्यक्ष स्याङ्तानको ध्यानाकर्षण गराउन गाउँपालिका पुगेको एमाले गाउँ कमिटी नेतृत्वले अध्यक्ष नभेटेपछि एमाले गाउँ कमिटीको कार्यबाहक अध्यक्ष जितबहादुर घिमिरेले उपाध्यक्ष पाख्रिनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

‘मकवानपुरगढी गाउँपालिकाको विभिन्न नाकाबाट कर छली गरी अवैध रुपमा निकासी भइरहेको नदीजन्य पदार्थलाई करको दायरामा ल्याई आम्दानीमा बाँधिनु पर्ने ।,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण बुझाउने कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य मेम्मर लो, पार्टी जिल्ला सदस्य हरि कँडेल, एमाले गाउँ किमटी सहसचिव चन्द्र योञ्जन, गाउँ कमिटी सदस्यहरु प्रकाश अधिकारी, भवानी शंकर दहाल, अनिता सापकोटा, सोविता दहाल, जनक रेग्मी, पार्टी ३ नम्बर वडा कमिटी अध्यक्ष राजु सापकोटा, युवा संघ गाउँ कमिटी उपाध्यक्ष विष्णु सिलवाल, युवा संघ सदस्य गोविन्द दुलाललगायतको उपस्थिति थियो ।

मुख्य समाचार