नागरिकता विधेयक आज प्रतिनिधिसभामा पारित हुने

सरकारले शुक्रबार नागरिकता विधेयक संसदमा पारित गर्ने भएको छ। संसद् सचिवालयले प्रतिनिधिसभाको बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित हुने जनाएको छ। 

त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। 

विधेयकमा ४५ सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन्। अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयक साढे तीन वर्षपछि फिर्ता लिएर सरकारले अर्को विधेयक संसदमा लगेको हो। यो विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ। 

शुक्रबारको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरी पारित गर्ने सरकारको तयारी छ।

राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ। 

मुख्य समाचार