विद्यालयमा डिआई नराख्न प्याब्सनको निर्देशन

काठमाडौं :  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सबै विद्यालयलाई डिआई (डिसिप्लिन इन्चार्ज) नराख्न निर्देशन दिएको छ। डिआईले विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै परिपत्र जारी गरेर नराख्न निर्देशन दिएको हो।

प्याब्सनका महासचिव आरबी कटवालले सबै विद्यालयलाई परिपत्र गरिसकेको जानकारी दिए। उनका अनुसार विद्यालयमा डिआई राख्ने प्रचलन थिएन। तर कक्षा ११ र १२ सञ्चालन गर्न खुलेका विद्यालयले डिआई राख्ने गरेको जानकारी उनले दिए।

​‘विद्यालयको प्रधानाध्यापक नै डिआई हो, अरु किन राख्नु पर्‍याे? यो सब पहिला नभएको प्रचलन कक्षा ११ र १२ पढाउने विद्यालय तथा कलेजले राख्ने गरेका हुन्, अबदेखि भने कसैले राख्न पाउने छैनन्,’ उनले भने।

पछिल्लो समय निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई चरम यातना दिएको भिडियोसहितका घटना बाहिर आउन थालेका छन्। जसकारण यसको चर्को विरोध र आलोचना भइरहेको छ। 

शिक्षा