हेटौंडा सिमेन्टको हालत : चार वर्षमा ८० करोड घाटा, २० करोड ऋण

हेटौंडा : सरकारी स्वामित्वमा रहेका उद्योग एकपछि अर्को धराशायी बनिरहेका वेला हेटौंडा सिमेन्ट उद्योग पनि त्यही बाटो पछ्याइरहेको छ।

कुनै समयमा नेपाली सिमेन्ट क्षेत्रमा एकछत्र राज गरेको उद्योग चार वर्षयता अस्तित्व जोगाउनका लागि मात्रै सञ्चालनमा रहेको छ। उद्योगले पछिल्लो समय उत्पादनस्थल हेटौंडामा पनि आफ्नो कब्जा जमाउन सकेको छैन, प्राइभेट सिमेन्ट उद्योगसँगको प्रतिस्पर्धा त परको कुरा।

उद्योगले उत्पादन गर्ने सिमेन्ट देशभरमै सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ। ‘गुडविल’ले मात्रै टिकेको हेटौंडा सिमेन्ट बन्द हुने अवस्थामा पुगिसकेको छ। कच्चा पदार्थ अभाव र ढुंगा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन समेत रोकिने गरेको छ।उद्योग निरन्तर चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डे बताउँछन्। ‘सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेको रहेछ।पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्था छ’, उनी भन्छन्, ‘उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या हट्दैन।’ पाण्डेका अनुसार एउटा बनाएर चलायो अर्को बिग्रिहाल्ने समस्या छ। नयाँ उपकरण ल्याएर उत्पादन थाल्नुपर्ने भएकाले सरकारसँग पहल गरिरहेको पाण्डेले बताए। 

चार वर्षमा ८० करोड घाटा

उद्योगले चार वर्षमा करिब ८० करोड घाटा व्यहोरेको छ। घाटासँगै करिब २० करोड रुपैयाँ ऋण पनि छ। उत्पादनमा गिरावट र उत्पादित सिमेन्ट पनि बिक्री नहुने समस्याले उद्योग निरन्तर घाटामा छ।

गत आव २०७८\०७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड घाटा व्यहोरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। गत आवमा एक अर्ब २२ करोड आम्दानी गरेको उद्योगले एक अर्ब ३९ करोड खर्च गरेको छ। उद्योगले आव २०७४\०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो। त्यसयता उद्योग निरन्तर घाटामा छ।

आव २०७५\०७६ मा उद्योगले एक करोड ५ लाख, आव ०७६\७७ मा २३ करोड ८२ लाख, आव ०७७\७८ मा थप १७ करोड चार लाख नोक्सान व्यहोरेको उद्योगले जनाएको छ। उद्योगमा गत आव ०७८\७९ मै उत्पादन भएको करिब तीन लाख बोरा सिमेन्ट बिक्री नभएर थन्किएको छ। यसका कारण उद्योगलाई दुई अर्ब बढी रकम घाटा लागेको छ।

उद्योगले गत आव ०७८\७९ मा १६ लाख बोरा सिमेन्ट बिक्री गरेकोमा बाँकी ३ लाख बिक्री गर्न नसकेको महाप्रबन्धक पाण्डेले बताए। उनले निजी उद्योगहरूले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन नसकेको बताए। बजारसँग प्रतिस्पर्धा गर्न उद्योगले हाल प्रतिबोरा सिमेन्ट ७४६ रुपैयाँ ९३ पैसामा बिक्री गर्छ। तर, उद्योगलाई एक बोरा सिमेन्ट उत्पादन गर्न करिब ९०० रुपैयाँ लागत पर्ने पाण्डेले जानकारी दिए। 

मुख्य समाचार