एक वर्षदेखि अर्थशास्त्र पढ्दै गगन थापा 

विद्यालय र विश्वविद्यालय तहको अध्ययन सकिसकेपछि अतिरिक्त कक्षा लिएर पढ्ने नेताहरु कति होलान् ? औपचारिक अध्ययन सकिसकेपछि थप अध्ययनका लागि प्राध्यापककहाँ पुग्ने नेताहरू सायदै होलान् । रुचिको विषयमा अतिरिक्त कक्षा लिने नेतामा पर्दछन्- नेपाली कांग्रेसका महामन्त्री गगन थापा ।

गगनले अध्ययन गरिरहेको विषय हो-अर्थशास्त्र । उनी साताको दुई पटक प्राध्यापककहाँ पुग्छन् । अर्थशास्त्रका विभिन्न पाटाहरूको कक्षा लिन्छन् । गगनले नियमित कक्षा लिन लागेको एक वर्ष कटेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र कटुवालले गगनलाई पढाइरहेका छन् । गगन र कटुवाल बीच नेता र नागरिकको सम्बन्ध छैन । उनीहरू शिक्षक र विद्यार्थीको सम्बन्धमा छन् ।

कटुवालले मार्करले सेतो बोर्डमा अर्थतन्त्रका विभिन्न पक्ष कोर्छन् । गगनले ध्यानपूर्वक सुन्छन् । जिज्ञासा राख्छन् । उनले राखेका जिज्ञासाको निराकरण कटुवालले गर्छन् ।

पहिलो दिनको कक्षा सैद्धान्तिक पक्षमा र दोस्रो दिनको बैठक व्यवहारिक ज्ञानका लागि हुन्छ । अर्थशास्त्रमा रुचि भए पनि थापाले त्यसको सैद्धान्तिक र व्यवहारिक पक्षमा औपचारिक कक्षा लिएका थिएनन् ।

कांग्रेसबाट सांसद, मन्त्री, संसदीय समितिको सभापति हुँदै दलको महामन्त्री बनेका छन् । नीतिगत तहमा पुगेको व्यक्तिले अर्थतन्त्र थप बुझ्न मन लाग्यो । त्यसका लागि नियमित कक्षा लिन सुरु गरे । नियमित कक्षा भने विश्वविद्यालयमा गएर उनी लिंदैनन् । कहिले गगनको कार्यालय त कहिले कटुवालको कार्यालयमा उनीहरू दुई शिक्षक- विद्यार्थीको रुपमा भेट हुन्छन् । एकदेखि दुई घन्टा अर्थशास्त्रको पढाइ हुन्छ । ‘अर्थशास्त्रको रुचि भएकाले पहिले देखि नै आफ्नो तरिकाले अध्ययन गर्थे । प्राज्ञिक रुपमा पनि सिक्नुपर्छ भन्ने लागेपछि कक्षा नै लिन थालें ।’ थापाले भने ।

प्राध्यापक कटुवालले गगनलाई पढाउनकै लागि छुट्टै पाठ्यक्रमको विकास गरेका छन् । सुक्ष्म र वृहत् अर्थशास्त्रमा आधारित रहेर दुई प्रकृतिका पाठ्यक्रमको विकास गरेका छन् । सुक्ष्म अर्थशास्त्रमा नीतिगत निर्णय गर्दा परिवार वा समाजलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा अध्ययन /अध्यापन हुन्छ ।

समाजका आर्थिक ‘टुल्स’का बारेमा कक्षा हुने कटुवालले बताए । नेता भइसकेपछि नीतिगत निर्णय गर्दा समाजलाई बुझेर नीति बनाउनुपर्ने हुन्छ । ‘कसैले समाजको वा परिवारको आर्थिक टुल्सका बारेमा कुरा गर्‍यो भने नेताले त त्यसको ठीक वा बेठीक पक्ष बुझ्न पर्‍यो नि ।’ कटुवालले भने, ‘परिवार वा समाज बुझ्ने गरि सुक्ष्म अध्ययनका लागि कोर्स डिजाइन भएको छ ।’

कटुवालले गगनका लागि विकास गरेको अर्को कोर्स वृहत् अर्थशास्त्रसँग सम्बन्धित छ । यस अन्तर्गत समग्र अर्थतन्त्र परिचालनको प्रणालीका विषयमा छलफल हुन्छ । सरकारको बजेटले मौद्रिक नीतिलाई कसरी प्रभाव पार्छ ? वा, मौद्रिक नीतिले बजेटलाई कसरी प्रभाव पार्छ? तिनिहरु बीचको अन्तरसम्बन्ध के हो ? लगायतका छलफल हुन्छ । ‘राष्ट्र बैंकले पैसाको प्रवाह घटायो भने यसले हाम्रो उत्पादनमा के असर गर्छ? रोजगारीमा के असर गर्छ ? समग्र अर्थतन्त्रमा हुने असरमा छलफल हुन्छ ।’ वृहत अर्थतन्त्रमा अध्ययन हुने एउटा पक्षको कटुवालले उदाहरण दिए ।

मुख्य समाचार