पार्टी बनाउन दिपक सिंहको दौडधुप, मकवानपुरगढीमा कमिटी गठन

हेटौंडा । मकवानपुरको राजनीतिक वृतमा पछिल्लो समय चर्चामा रहेका नेता दिपक सिंह पार्टी निर्माण अभियानमा खटिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य दिपक सिंह जिल्लाभर पार्टी कमिटी विस्तारको अभियानमा सक्रिय पूर्वक लागेका हुन् । उनी गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयरमा अप्रत्याशित मत ल्याएर चर्चाको शिखरमा थिए ।

वर्षौदेखि मकवानपुरको राजनीतिमा हालीमुहाली गर्दै आएको नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई मात खुवाउने गरी सिंहले स्थानीय तह सदस्य निर्वाचनमा गठबन्धन र अन्य राजनीतिक दललाई टक्कर दिँदै २० हजार ५ सय २५ मत पाएका थिए ।

निर्वाचनमा अत्याधिम मत ल्याएपछि एकाएक चर्चामा आएका सिंहले जिल्लामा राप्रपालाई नेतृत्वकारी भूमिका दिँदै पार्टी निर्माणमा खटिएका हुन् । सिंहको प्रमुख आतिथ्यतामा सोमबार मकवानपुरगढी गाउँपालिकाको २ नम्बर वडामा राप्रपाको वडा कमिटी गठन भएको छ ।

वडा भेला तथा पुनर्गठन कार्यक्रमले केदार चौरेलको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको राप्रपा जिल्ला उपाध्यक्ष शंकर सिंह ठकुरीले जानकारी दिए । उपाध्यक्षमा केशव दुलाल, रोशन दर्लामी र सचिवमा रवि थिङ, र कोषाध्यक्षमा कुमारी थिङ चयन भएको छन् । भेलाको अबसरमा ३० जनाले पार्टी प्रवेश गरेको उपाध्यक्ष ठकुरीले बताए । नवप्रवेशीहरुलाई सिंहले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । जिल्ला उपाध्यक्ष ठकुरीले राप्रपाप्रति जनतामा विश्वास बढेको र दिपक सिंहको अभिभाकत्व भूमिका मन पराएर राप्रपा रोज्नेहरु दैनिक बढिरहेको बताए ।

भेलामा उपाध्यक्ष ठकुरी, अर्जुन गौतम, नेताहरु कमान सिं गोले, मुकुन्द न्यौपाने, महिला जिल्ला सदस्य सुकु माया थिङ, पार्टी गाउँपालिका अध्यक्ष जयराम तिमल्सिना, युवा जिल्ला सदस्य दिपेन्द्र दुलाल, सुरेश गोले, गाउँपालिकाको युवा संयोजक नवराज न्यौपाने र सचिव प्रकाश चौलगाईलगायतको आतिथ्यता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले विगतका दिनको स्मरण गर्दै भने, ‘हात्ती छाप चप्पल त्यो पनि ४ ठाउँमा आगोले जोडेर लगाई, मकै भटमास खाँदै भोट माग्न आउने नेताले, चुनाव जितेपछि करोडौंको महल विभिन्न ठाउँमा जोडे तर जनताले केही पनि पाएनन् ।,’ चुनाव जितेपछि नेताहरुको जीवनस्तर दिन प्रतिदिन बढ्दै गएर उनीहरु नव धनाढ्य बनेको तर, जनताको जीवनस्तरमा कुनै परिवर्तन नआएको भन्दै अब सोच्ने बेला आएको बताए । उनले मताधिकारलाई जनताले सही ठाउँमा प्रयोग गरे मुलुक र समाजले नै दुःख नपाउने बताए ।-khabar break

मुख्य समाचार