भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन  

मुम्बई । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए ।

यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक व्यक्त गरेका छन् ।

उनको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको हो । उनका पिता आयकरमा कर्मचारी थिए । उनलाई आफ्ना पिताको संगतले सेयर बजारतर्फ आकषिर्त गरेको हो । उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकान्टेन्ट थिए । राकेशको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनको सम्पत्ति ६ अर्ब डलर रहेको छ ।

मुख्य समाचार