तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको हेटौंडामा प्रभाव सामान्य 

हेटौंडा। विप्लव नेतृत्वको नेकपा सहित ४ दलले तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा सामान्य देखिएको छ। 
सडकमा बन्दकर्ता नभएता पनि हेटौंडाका शैक्षिक संस्था,कलकारखाना बिहान देखि बन्द रहेका छन्। बन्दका कारण विद्यालय र क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका थिए।  

हेटौंडा हुदै अन्यत्र जाने लामो तथा छोटो दुरीका मालवाहक र यात्रुवाहक सवारी चल्न सकेका छैनन। दुई पाङ्ग्रे तथा तिन पाङ्ग्रे सवारी भने निर्वाध रुपमा चलेका छन्। एम्बुलेन्स,दुध तथा पानी ढुवानी गर्ने सवारी,इन्धन बोकेका सवारी,प्रेसका गाडी चल्न दिइएको छ। बन्दका कारण हेटौंडा बजार क्षेत्र सुनसान रहेको छ। 
बन्दलाई मध्यनजर गर्दै बजारको मुख्य चोकमा प्रहरी तथा अन्य क्षेत्रमा प्रहरीको गस्ती टोली खटाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताएका छन्। मकवानपुर प्रहरीले बारा तथा चितवन प्रहरीको समन्वयमा केही सवारीलाई स्कटिङ्ग गरेर  गन्तव्य पठाएको उपरीक्षक गौतमले बताए। 

यो समाचार तयार पार्द सम्म मकवानपुरमा बन्द शान्तिपूर्ण रहेको छ।उक्त ४ दलले साउन २७ गतेनै बैठक बसेर चरणवद्द सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका थिए। बन्दको पूर्वसन्ध्यामा हिजो हेटौंडामा मशाल जुलुस प्रर्दशन गरिएको थियो। -prasta khabar

समाचार समाज