प्रधानध्यापक र अध्यक्षको राजीनामा माग्दै महेन्द्र किरण मावि बन्द 

हेटौंडा । विद्यालयमा बेतिथि बढेको र कमजोरी सुधारका लागि पहल नगरेको भन्दै पश्चिम मकवानपुरको मनहरीमा रहेको महेन्द्र किरण माविको प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षको राजीनामा माग गर्दै विद्यालय बन्द गरिएको छ । 
मनहरी गाउँपालिका ८ सिमपानीमा रहेको विद्यालयको शैक्षिक, भौतिक र आर्थिक पक्षमा देखिएको कमजोरी सुधारको माग गर्दै अभिभावकले प्रधानाध्यापक राधालाल मण्डल र व्यवस्थापन समिति अध्यक्ष हेमलाल उप्रेतीको राजीनामा माग गर्दै विद्यालयमा तालाबन्दी गरेका हुन् । 
अभिभावकले राखेको मागकोे बिषयमा निर्णय गर्नका लागि सोमबार ११ बजेसम्म प्रधानाध्यापक मण्डलले गाउँपालिकासँग समय माग गरेपनि कुनै निर्णयमा पुग्न नसकेको बताइएको छ । मण्डलकै कारण सोमबार पनि विद्यालयको पठनपाठन ठप्प भएको स्थानीयले आरोप लगाएका छन् । 
एसइइ नतिजामा जम्मा एक जना मात्रै पास भएको र प्रधानाध्यापक मण्डलले पढाउने बिषयमा समेत एकजना मात्रै विद्यार्थी पास भएपछि अभिभावकहरु आक्रोशित भएका हुन् । अभिभावकहरुले विद्यालय बिग्रिनुमा प्रधानाध्यापक मण्डल र व्यवस्थापन समिति अध्यक्ष दोषी रहेको भन्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेती लगायतसंग छलफल गरेका थिए । 
छलफलका क्रममा मण्डलले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रगतिबारे समेत राम्ररी बताउन नसकेपछि अभिभावकले राजीनामा माग गरेका हुन् । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष लगायतले प्रधानाध्यापकबाट राजीनामा दिएर अभिभावक र विद्यार्थीहरुको भावना बुझिदिन आग्रह गर्दा पनि उनले अटेरी गरेको एक अभिभावकले बताए । 
विद्यालय समयमा पनि शिक्षक तथा विद्यार्थीहरु बाहिरै भेटिने गरेको, पोशाकमै विद्यार्थीहरु जंगल छेउतर्फ खेल्न र घुम्न जाने गरेको, विद्यालयका शिक्षक र कार्यालय सहयोगीले समेत प्रधानाध्यापकलाई नटेर्ने गरेको लगायतको बिषय उठान भएको छ । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले महेन्द्र किरण माविको समस्या समाधानको लागि गाउँपालिकाको तर्फबाट आवश्यक पहलकदमी भैरहेको जानकारी दिएका छन् । समाचार प्रदेश दैनिकमा छ ।

notice-_-newss-1661215921.jpg

समाचार समाज