एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे  बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी लगायत विषयमा छलफल हुने एमाले कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। 

आम निर्वाचनमा एक्लै अगाडि बढ्ने निर्णय गरेको एमालेले चुनाव केन्द्रित योजना बनाउन स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ।

गत साउन २६ गते बसेको एमाले सचिवालय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।  एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ।

आम निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने तर आवश्यकताका आधारमा चुनावी तालमेल हुन सक्ने एमालेले बताउँदै आएको छ।

मुख्य समाचार राजनीति