नेविसंघ कार्यकर्ताप्रति प्रधानमन्त्रीको आक्रोश : लगेर थुन्दिए हुन्छ 

चार दिनअघि त्रिवि कार्यकारी परिषद् बैठक बसिरहेको एक होटलमा नेविसंघ त्रिवि इकाइका योगेन्द्र रावलको समूहले घेराबन्दी गरेर कागजात नियन्त्रणमा लियो । त्रिवि परिसरभित्र बैठक गर्न नपाएका पदाधिकारी कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा गएका थिए । तर नेविसंघका कार्यकर्ताको रवाफ यस्तो थियो, मानौं त्यो कागजात उनीहरुले विश्वविद्यालयका अधिकारीहरुबाट होइन, अपराधीहरुबाट बहादुरीपूर्वक खोसिल्याउन सफल भएका हुन् ।

विश्वविद्यालयका कुलपति अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा त्यही नेविसंघका संस्थापक सभापति हुन् । आफ्नो दलसँग जोडिएका भ्रातृसंस्था कार्यकर्ताहरुको ताल देखेर उनी स्वयं आजित भए । मिडियामा कागजात कब्जाको खबर फैलिएसँगै उनले गृहमन्त्रीलाई भने, ‘चोरी मुद्दा लगाउनुस् तिनीहरुलाई, लगेर थुन्दिए हुन्छ ।’

प्रधानमन्त्री जति रिसाए पनि त्यहाँ उपस्थित गृहमन्त्री बालकृष्ण खाँणको रवैया भने फरक थियो । खासगरि योगेन्द्र रावल र हरि आचार्यको समूहबारे विगतदेखि नै जानकार खाँणलाई त्रिविमा भएका यसअघि देखिका अनेकौं घटनाहरुलाई सुरक्षित अवतरण गराउनुपर्ने दबाब छ ।

देउवाले उपकुलपतिलाई कागजात बुझाउन निर्देशन दिए पनि गृहमन्त्रीले शिक्षामन्त्री देवेन्द्र पौडेलमार्फत् सेफल्यान्डिङ गराउन चाहे । प्रधानमन्त्रीको कडा निर्देशनपछि दस्तावेजहरु त्रिवि पदाधिकारीलाई नै फर्काउन नैतिक संकट परेको र प्रधानमन्त्रीलाई नै फर्काउन पनि डराएपछि शिक्षा मन्त्रीलाई बुझाएको मन्त्रालयका एक अधिकारीको जिकिर छ ।

यो घटनापछि त्रिवि पदाधिकारीमा त्रास थपियो । त्यसैले त्यही दिन उपकुलपति कार्यालयले निजी सुरक्षा अधिकृत व्यवस्था गरिदिन कुलपति समेत रहेका प्रधानमन्त्री देउवालाई समेत सम्बोधन गर्दै सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई पत्र लेख्यो ।

उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले उक्त पत्रमा लेखेका थिए, ‘केही समूहको नामबाट तालाबन्दी गर्ने उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दैनिक फोन गरी धम्क्याउने, गालीबेइज्जजी गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानून र सामाजिक मर्यादाले पचाउन नसक्ने शब्दहरु उल्लेख गरी म्यासेज गर्ने, आफ्नै कार्यालय छिर्नबाट निषेध गर्ने जस्ता कार्य गर्ने र सोलाई निरन्तरता दिँदै आएका कारणले पदाधिकारी गम्भिर असुरक्षित भएको जानकारी गराउँदछु । अतः पदीय जिम्मेवारीले गर्दा दैनिक दिन कार्यालय र सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा समेत भौतिक रुपमा नै आक्रमण गर्ने सम्भावना भएकोले सो असुरक्षाबाट बच्नको लागि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई-दुई जना निजी सुरक्षा अधिकृतको व्यवस्था गरिदिई शान्तिपूर्ण रुपमा काम गर्ने वातावरण मिलाई दिनुहुन अनुरोध गर्दछु ।’

त्यसपछि भदौ १२ गते त्रिविले पत्रकार सम्मेलन आयोजना गर्‍यो । सम्मेलनलाई नेविसंघले बिथोल्न खोज्दा दुई विद्यार्थी संगठनबीच सामान्य झडप भयो । रावलको समूहले त्रिविले आयोजना गरेको पत्रकार सम्मेलन बिथोल्न खोज्दा अनेरास्ववियुले प्रतिकार गर्ने क्रममा केही सामान्य घाइते समेत भए । प्रहरी आइसकेका कारण अप्रिय घटना हुन सकेन ।

योगेन्द्र रावल उपकुलपति प्रा.डा.बास्कोटाले अनेरास्ववियु अगाडि सारेर भिडन्तको निम्तो दिएको भन्दै त्यो आफूलाई स्वीकार्य नभएको प्रतिकृया दिएका छन् । अनेरास्ववियुले आक्रमण गरेको कारण छिन्नभिन्न भएको नेविसंघ एक भएर प्रतिकार गर्ने तयारी गरिरहेको पूर्व विद्यार्थी नेताले जानकारी दिए । योगेन्द्र रावलले अब पदाधिकारीहरु बहिर्गमन नभएसम्म आन्दोलन गरिरहने बताए । उनले भने, ‘उहाँहरु बर्खास्त नहुँदासम्म हामी लड्छौं, किनकि उहाँहरु विश्वविद्यालय सञ्चालनका निम्ति अयोग्य हुनुहुन्छ ।’ कलमको आन्दोलनले केही नभएको भन्दै उनले बुधबारदेखि नै अझ कडा आन्दोलन गर्ने चेतावनी दिए ।

उता अनेरास्ववियुले पनि तालाबन्दीको विरोध गर्दै आफ्नो प्रदर्शनलाई तीव्र बनाउने जनाएको छ । यस्तो अवस्था आएमा दुई विद्यार्थी संगठन अनि त्रिवि पदाधिकारीहरुको आपसी स्वार्थको द्वन्द्वमा त्रिवि झन् बढी पर्ने देखिन्छ ।

मुख्य समाचार राजनीति