पौष्टिक र औषधीय हिसाबले महत्वपूर्ण रहेको ‘ओल’ एक विशेष तरकारी

✒️ चन्द्रकान्त चौधरी


‘ओल’ विशेष गरि माटो मुनि रहेको गानो तरकारीको रुपमा प्रयोग गरिने भएपनि यसको डाँठ र पात पनि तरकारीको रुपमा खाने गरिन्छ । पौष्टिक र औषधीय हिसाबले महत्वपूर्ण रहेको ओेलमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, फलाम, थायमिन लगायतका अन्य खनिज तत्वहरु पाईन्छ ।

तराईको थारु समुदायमा घरको वरिपरि परम्परागत रुपमा वर्षौ देखि लगाउदै आईरहेको ओल अहिले कतै कतै व्यवसायिक रुपमा खेती हुन थालेको छ । यो थारु समुदायको एक विशेष तरकारी हो र थारु समुदायले मनाउने जितिया पावैनमा ओठघन (दर) खाने बेलामा अनिवार्य ओल तरकारी हुनुपर्दछ ।

ओलको गानो र पातमा हुने क्यालसियम अक्जालेट तत्वले गर्दा हल्का कोक्याउने भएपनि तरिका मिलाएर पकाइयो भने कोक्याउदैन र बहुत स्वादिलो हुन्छ ।

ओल तरकारीको अलावा विभिन्न परिकारहरु ओलको अचार, चटनी, पकौडा, ओलको डाँठ, पात र माछा कुटेर बनाएको सिधरा, बनाएर खाने चलन रहेको छ ।

ओल बालीमा रोगकिराको समस्या पनि खासै नदेखिने र यसमा विषादीको प्रयोग नगर्ने भएकोले पूर्ण प्राँगारिक तरकारी रुपमा व्यवसायिक उत्पादन गर्न सकिने सम्भावना रहेको देखिन्छ ।
(लेखक चौधरी मकवानपुरगढी गाउँपालिकाको कृषि शाखा प्रमुख (कृषि अधिकृत) रुपमा कार्यरत हुनुहुन्छ ।)

रोचक समाचार समाज