सरकारले अब कर्मचारी नियुक्ती र सरुवा–बढुवा गर्न नपाउने

काठमाडौं : सरकारले कर्मचारीको नियुक्ति तथा सरुवा÷बढुवा गर्न नपाउने भएको छ।

निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबार (आज) बाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । 

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । 

 न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे । 

निर्वाचन आयोगले यस अघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । 

कर्मचारीहरुलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरुमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए।निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । 

मुख्य समाचार राजनीति समाचार