कांग्रेसले बनायो उम्मेदवार छान्ने ४ वटा मापदण्ड 

हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छान्नका लागी सत्तारुढ दल नेपाली कांग्रेसले ४ वटा मापदण्ड तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । 
पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिदाँ पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय बोर्डको बैठक बोलाएका थिए । 
बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । महामन्त्री थापाका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दावी गर्न पाउने छैनन् । 
त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको थापाले जानकारी दिए । बोर्डले उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाएको छ ।
बुधबारको बैठकले उम्मेदवार चयनका मापदण्डमात्रै तय गरेको छ । उम्मेदवारबारे छलफल गर्न आज बिहीबार दिउँसो साढे १२ बजे पुनः बैठक बोलाइएको महामन्त्री थापाले जानकारी दिएका छन् । 
कांग्रेसमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिकतर्फको सूची बुझाउनुपर्ने कार्यतालिका तय गरेको छ ।

मुख्य समाचार राजनीति समाचार