अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

धनगढी : अनशनरत डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्था जटिलतर्फ गइरहेको जनाएको छ।

२०औं सत्याग्रहमा बसेका केसीले सोमबारदेखि सत्याग्रह थालेका थिए। शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनमा टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडिने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको छ।

यस्तै केसीको रक्तचाप घटेर ९०/६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको जनाइएको छ।

प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको अस्पतालले जनाएको छ। डाक्टर केसीलाई शुद्ध पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २० औं सत्याग्रहमा बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन।

लामो समयसम्म सरकारले वार्ता गर्न उदासीन भए डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ। अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ।

मुख्य समाचार समाचार