४ महिनामा ७ अर्ब २० करोडको विद्युत् निर्यात

 चालु आर्थिक वर्ष (आव) २०७९÷८०को दोस्रो महिनामा २ अर्ब  ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । 

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठ बाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ । 

हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

मुख्य समाचार समाचार