असोज १२ गते देखि मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता हुने

१० असोज,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ भानु मिनीपिच (फुटसल) मा खेल हुने पाँचौं संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगीता यही असोज १२ गते बुधबारदेखि शुरु हुने भएको छ । सोमबार आयोजक गढी स्टार स्पोर्टस् क्लबले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।




हरेक वर्ष आयोजना हुँदै आएको रनिङ्ग शिल्ड फुटसल प्रतियोगीतामा अघिल्लो संस्करणभन्दा यस बर्ष पुरस्कार राशी बढाईएको छ । यस संस्करणमा प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार र तेस्रो हुनेलाई २५ हजार प्रदान गरिने आयोजक क्लबका सचिव एवम् खेलका संयोजक विदुर हुँमागाईले बताए ।

यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागत तर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका भित्रका १८ वटा टोलीको सहभागिता रहने संयोजक हुँमागाईले बताएका छन् ।

फुटसल खेल र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको र प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ।

बिजयादशमीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। असोज १२ गतेदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल भने यही १५ गते हुनेछ ।

खेलकुद मुख्य समाचार स्थानीय