एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृशोक 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृशोक परेको छ।

उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।

आमाको बिहीबार बिहान करिब चार बजे निधन भएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका उनी चुनावी अभियानमै व्यस्त रहँदा यस्तो खबर पाएको जानकारी गराए।

साथै उनले आज, भोलि र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन नसक्ने समेत जानकारी गराएका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र र सुरेन्द्र दाजु भाइ हुन्।  एमाले विभाजन हुँदा सुरेन्द्र एमालेमै बसे भने राजेन्द्र एकीकृत समाजवादीमा गएर उपाध्यक्ष बनेका छन्। राजेन्द्र हाल बागमती प्रदेशका मुख्यमन्त्री रहेका छन्। 

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 

मुख्य समाचार राजनीति समाचार