कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए। बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यलाई अनुरोध समेत गरेको पौडेलले बताए।

बैठकमा निर्वाचनको तयारी, सत्ता साझेदार दलहरूसँगको तालमेललगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। कांग्रेसले गठबन्धनका दलहरूसँग साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने तयारी गरिरहेको छ।

यसअघि बिहीबार कांग्रेसले बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय गर्नका लागि असोज ३१ गतेसम्म समयसीमा दिएको थियो। मुख्यसचिव पौडेलका अनुसार विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गर्नुपर्नेछ। 

यसअघि बुधबार कांग्रेसले उम्मेदवारी फिर्ता नलिने बागी नेतालाई पार्टीबाट पाँच वर्ष निस्कासन गर्ने निर्णय गरेको थियो। 

मुख्य समाचार राजनीति समाचार