पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै

गण्डकी प्रदेशमा आयोजना हुने नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रूपमा सुरु हुँदै छ ।

पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । अपराह्न ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले नवौंको औपचारिक उद्घाटन गर्नेछन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धाटन गर्ने भनिए पनि उनी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले नवौंको उद्घाटन गर्न लागेका हुन् ।

प्रतियोगिताको उद्घाटनमा ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्नेछन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।
प्रतियोगिताका अघिकांश खेल कास्कीमा तथा केही खेल गण्डकी प्रदेशकै स्याङ्जा, गोर्खा, तनहुँ, नवलपुर र बाग्लुङमा हुनेछन् भने एक खेल काठमाडौंमै हुनेछ ।

कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।
प्रतियोगितामा ३६ खेलका ६, १५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तीन विभागीय टोली, सात प्रदेश र एनआरएनए गरी ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै छन् । प्रतियोगिताअन्तर्गतको पुरुष क्रिकेट सम्पन्न भइसकेको छ भने केही खेलहरू उद्घाटन अघि नै सुरु भएका छन्

खेलकुद मुख्य समाचार