ओलीले कमल थापालाई १० करोडमा सूर्य चिन्ह बेचेः खतिवडा 

राक्सिराङ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाएका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर २ मा उम्मेदवार रहेका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको चियापान तथा अगुवा कार्यकर्ता भेलामा यस्तो बताएका हुन् । उनले ओलीले राजावादी र विखण्डनकारीहरुसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै ओलीले १० करोड लिएर सूर्य चिन्ह कमल थापालाई बेचेको दावी गरे ।
खतिवडाले मकवानपुरमा गठबन्धन बलियो मतका साथ अग्रता कायम गरिरहँदा नेकपा एमालेका उम्मेदवारहरु स्पर्धामा आउनै नसक्ने बताए । उनले पश्चिम मकवानपुरको विकासमा आफू र गठबन्धनको लगानीबारे बोल्दै भन्नुभयो, ‘यहाँको विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’
खतिवडाले अब बन्ने गठबन्धन सरकारले गाँजा विधेयक पारित गर्नुका साथै गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई पनि जेलमुक्त गर्न विधेयक ल्याइने बताए । 
कार्यक्रममा मकवानपुरको निर्वाच्न क्षेत्र २ को क का उम्मेदवार कुमारी मोक्तानले पछिल्लो पटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर २ को रुपान्तरण भएको बताउनु भयो । उनले सरकार निर्माणमा एउटा मत निर्णायक हुने र मकवानपुरका सबै गठबन्धन उम्मेदवार यसपटक सरकारको नेतृत्वमा पुग्ने अनुहार भएकाले मत दिन आग्रह गरिन् ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिन्ह बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताए ।  उनले डमरु बजाउँदै औषधि बेच्ने हालतमा एमाले पुगेको बताउँदै पश्चिम मकवानपुरको विकासमा एमालेको कुनै योगदान नभएको दावी गरे ।
कार्यक्रममा नेकपा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतले निर्वाचन क्षेत्र नम्बर २ को विकासमा सधैँ बाधक बनेको एमालेले भोट माग्न पनि लजाउनु पर्ने टिप्पणी गरेका थिए ।-prastakhabar

मुख्य समाचार राजनीति समाचार समाज