उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका उम्मेदवारले तोकिएको जरिवाना बुझाउने शनिबार अन्तिम दिन।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई निर्वाचन आयोगले   खर्च विवरण बुझाउन आजसम्मको समय दिएको हो। 

आयोगले खर्च विवरण बुझाउन बाँकी रहेका उम्मेदवारले शनिबार भए पनि विवरण बुझाउन सक्ने जनाएको छ। सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा, कार्यालय समयभित्र जरिवाना बुझाउने व्यवस्था मिलाएको आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाउने आयोगले चेतावनी दिएको छ। गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्चको विवरण नबुझाएका ४११ जनाको नाम आगामी निर्वाचनमा सहभागी गराउनका लागि राजनीतिक दलले समानुपातिककको बन्दसूचीमा पेस गरेका छन्। जसमा प्रदेशसभातर्फका २६९ र प्रतिनिधिसभातर्फका १४२ जना छन्। 

केही उम्मेदवारले खर्च विवरण बुझाएको भए पनि अधिकांशले विवरण बुझाउन बाँकी रहेको आयोगले जनाएको छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। 

मुख्य समाचार राजनीति समाचार समाज