निर्वाचनमा मिडिया निष्पक्ष हुनेमा विश्वास छ: रवि लामिछाने

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले निर्वाचनका समयमा सबै मिडिया र सञ्चारकर्मीहरूले स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

चुनावी अभियानको लागि शनिबार हेटौंडा आएका लामिछानेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफू पनि लामो समय सञ्चारकर्मी भएर काम गरेको स्मरण गर्दै निर्वाचनका समयमा सबै मिडिया र सञ्चारकर्मीहरूले स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने विश्वास व्यक्त गरे ।

उनले निर्वाचनको समयमा जानेर या नजानेर सञ्चार माध्यमको दुरुपयोग हुने गरेको बताउँदै त्यसतर्फ सचेत हुनुपर्ने बताए । उनले निर्वाचनको समयमा जनचासो बढ्ने र राजनीतिक दलको केहिले त्यसको दुरुपयोग गर्न सक्ने बताउँदै स्वतन्त्र र निष्पक्ष भएर काम गर्न अनुरोध समेत गरे ।

पूर्व सञ्चारकर्मी समेत रहेका लामिछानेले देशमा परिवर्तन ल्याउन आफुले सञ्चार क्षेत्र छाडेर राजनीतिमा आएको बताए । उनले आफु सञ्चार क्षेत्रमा रहँदा विदेशमा अलपत्र परेका धेरै नेपालीहरुको उद्धार गरेको र केही स्थानमा अस्पताल सञ्चालन गरेको बताउँदै देशको परिस्थित बदल्न राजनीतिमा आएको स्पष्ट पारे ।

यसैगरी, लामिछानेले आफ्ना कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह समेत गरेका छन् । कार्यक्रममा रास्वपाका मकवानपुर सभापति राजकुमार न्यौपाने, रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार टाकाराज थापा (सुरेश) लगाएतको सहभागिता रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार