एमालेले जिते संविधान, गणतन्त्र र प्राप्त उपलब्धि ध्वस्तः खतिवडा 

मनहरी । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले मंसिर ४ को निर्वाचन एमालेले जितेमा संविधान, गणतन्त्र र हालसम्म प्राप्त उपलब्धी ध्वस्त हुने बताएका छन् । 
गठबन्धन दलको आयोजनामा शनिबार मनहरी गाउँपालिकाको रजैयामा भएको चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनका कारण नेकपा (एस) जन्मेको र अहिले गठबन्धन बनेको बताए । 
‘संविधान मास्ने कुचेष्टा गरे । २÷२ पटक संसद् भंग गर्न खोजे, पार्टीमा पनि ज्यादती र मनलाग्दी गर्दै गए’, खतिवडाले भने, ‘हुँदाहुँदै अहिले राजा फर्काउँछु भन्ने राजेन्द्र लिङ्देन, देश टुकाउछु भन्ने सिके राउत, व्यवस्था विरोधी कमल थापा लगायतसंग साँठगाँठ गरेका छन् । केपीले अहिले गरेको क्रियाकलापबाट हामीले हिजो लगाएको आरोपहरु प्रमाणित हुँदै गएका छन् ।’ 
कमल थापाको दमनका कारण धेरै परिवर्तनकारी नेताहरु जेल बस्न बाध्य भएको स्मरण गर्दै उनले एमालेले कसरी कमल थापालाई भोट हाल्नसक्छ ? भन्ने प्रश्न गरे । ‘फेरि पनि एमालेले जित्यो भने मुलुक नै ध्वस्त पार्छ, अझ प्रतिगमनको खतरा हुनेछ’, खतिवडाले थपे, ‘अहिले एमालेसंग कुनै एजेण्डा नभएपछि गठबन्धनका उम्मेदवारलाई अनेक आरोप लगाउने, युवा र बृद्ध उम्मेदवारको कुरा निकाल्ने, स्थानीय कि बाहिरको भन्ने जस्ता कुरा उठाइरहेका छन् । ति नेताहरुलाई म भन्न चाहन्छु, म मकवानपुरलाई क्षेत्र बनाएर राजनीति गर्दै आएको व्यक्ति हुँ ।’ 
कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन अग्रगामी गठबन्धन भएको दावी गर्दै उनले मुलुकको परिवर्तनका लागि भएको आन्दोलनमा जेल परेकाहरु अहिले गठबन्धनमा रहेको प्रष्ट पारे । कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न उनले गठबन्धनका नेता कार्यकर्तालाई अनुरोध गरे । जित पश्चात पनि सामुहिक रुपमै मकवानपुरको विकास र समृद्धिका लागि काम गर्ने उनले प्रतिबद्धता जनाए ।-prastakhabar
 

राजनीति समाचार समाज स्थानीय