मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै 

मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ। कार्तिक शुक्ल द्वितीयामा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ। 

भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन्।  भैयादुज’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ।  विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन्। 

दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन्। टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धोइन्छ। त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरंगीटीका लगाइदिने मैथिल परम्परा छ।
 
यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले ‘गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस्’ भन्दै गीतबाट भाव व्यक्त गर्छन्। यसै क्रममा सुकेको केराउको दाना दाजुभाइलाई चपाउन दिइन्छ।  ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर बजरी भनिएको मिथिलाका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल बताउँछन्।

‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको डा विमल बताउनुहुन्छ। यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखी दिन्छन्। दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन्।

मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीन पर्व परम्परा चलेका छन्। साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा–यमुना नै हुन्।

सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार रहेको विमलले जानकारी दिए।

समाचार