कांग्रेसको चुनावी घोषणापत्र : सुत्केरीभत्ता ५ हजार पुर्‍याउने 

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने उल्लेख छ ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएकाे हो ।  सरकारले चालु आर्थिक वर्षदेखि  मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लामा सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिँदै आएकाे छ ।  कांग्रेसले आगामी पाँच वर्षमा कृषिको थप आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने लक्ष्य लिएको छ। त्यस्तै नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्यान्न असुरक्षाका सूचकाङ्कमा प्रगति हासिल गर्ने नीति लिएको छ। बढी उत्पादन दिने बाली तथा पशुपक्षीको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानलाई प्राथमिकता दिइनेछ। उन्नत जातका बीउबिजनको उपलब्धतालाई सहज र सुलभ बनाउने व्यवस्था मिलाइनेछ। ठूला सिँचाइ प्रणालीको वैज्ञानिक व्यवस्थापन र साना तथा सौर्य सिँचाइको प्रयोग बढाइने पत्रमा भनिएको छ। 

मुख्य समाचार राजनीति