बलात्कार पुष्टि हुने प्रमाण पीडितले पेश गर्न नसकेको सन्दीपका वकीलको दाबी

 क्रिकेटर सन्दीप लामिछानेका वकिलले बलात्कार पुष्टि हुने प्रमाण पीडित पक्षले पेश गर्न न​सकेको दाबी गरेका छन्।  

उनका वकील मुरारी सापकोटाले बताए जबर्जस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको पक्षले बलात्कार पुष्टि हुने प्रत्यक्ष प्रमाण पेश गर्न नसकेको दाबी गरेका हुन्।

बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा सन्दीपका तर्फबाट दुई कुरामा जोड दिएको उनका वकील सापकोटाले बताए। उनले पीडित भनिएकी किशोरीको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेमा पनि बहस गरेको बताए।

उनका अनुसार सन्दीप पक्षधर कानून व्यवसायीले बहसमा पीडित किशोरीको उमेरको आधार नागरिकतालाई नभएर जन्मदर्तालाई मान्नुपर्नेमा जोड दिएका थिए।

सापकोटाका अनुसार सन्दीपको पक्षका कानून व्यवसायीहरूले पीडित किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर बहस गर्नुपर्नेमा जोड दिएका छन्। जागिर खानका लागि उमेर घटाएर नागरिकता बनाउने प्रचलन रहेकाले जन्मदर्तालाई नै यो मुद्दामा उमेरको आधार मान्नुपर्नेमा जोड दिएको उनको भनाइ थियो।

‘आज विशेषगरी प्रतिवादीका तर्फबाट काठमाडौं जिल्ला अदालतसमक्ष हामीले दुईवटा विषयवस्तु जोडदार रुपमा उठायौँ। पहिलो कुरा जुन जबरजस्ती करणीको वारदात भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेश गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ‚’ वकिल सापकोटाले भने, ‘पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने, जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने? किनभने नागरिकता पछि बनेको कागज भयो। जन्मदर्ता मौकामा बनेको कागज भयो। नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ। त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्नेमा रह्यो।’

आज शुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ।

खेलकुद समाचार