ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्छु : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाहरूको डिजिटल प्रोफाइल तयार गर्ने बताएकी छन्। 

सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाको संरक्षण तथा प्रवर्द्धन गर्दै डिजिटल प्रोफाइल तयार पार्ने बताएकी हुन्।

ललितपुर क्षेत्र ३ मा बुधबार वाम–लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा उनले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति बनाएर कार्यान्वयन गर्ने पनि उल्लेख गरिन्।

रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गर्ने उनले बताइन्। मन्त्री भुसालले हस्तकला केन्द्रहरूको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइकल मार्ग निर्माण गर्ने बताइन्। स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने पनि उनको भनाइ थियो ।

मन्त्री भुसालले निर्माणाधीन बागमती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरिन्। उनले विकास निर्माणका निकायहरूबीच उचित समन्वयका लागि नीतिगत पहल गर्ने बताइन्। अध्ययन भइसकेका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने उनको भनाई छ।

उनले आफ्नो घोषणापत्रमा स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण र उपभोग‚ स्थानीय स्रोतको सामुदायिकीकरण गरिने, स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनको प्रवर्द्धन गर्ने, जनसहभागितामूलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने र कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिंचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित संकलन तथा बजारीकरण गरिने कुरा पनि समेटेकी छन्।

मन्त्री भुसालले ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने, क्लब र समूहलाई सबल तुल्याई परिचालन गर्ने पनि बताइन्।

शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण गर्ने, ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता गर्ने तथा ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवर्द्धन गर्ने उनले उल्लेख गरिन्।

मुख्य समाचार राजनीति समाचार