एमाले उम्मेदवार महेश बर्तौलाले गरे तामाङ समुदायको अपमान 

हेटौंडा । एमालेको तर्फ मकवानपुर क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले भोट माग्ने क्रममा तामाङ समुदायको अपमान गरेका छन् । 
बर्तौलाले बिहिबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–१ डाँडाखर्कमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा तामाङ भाषामै विपक्ष दललाई गाली गर्दै तामाङ समुदायको अपमान गरेका हुन । 
उनले हास्दै तामाङ भाषामा ‘रक्सी खाएर सूर्यमा भोट हालौँ’ भन्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनको अपमान जनक शब्दको उक्त भिडियो सार्वजनिक भएपछि उनीप्रति आदिवासी, जनजाती तथा तामाङ समुदाय रुष्ट बनेका हुन् । 
नेपाल तामाङ घेदुङ्ग संघ मकवानपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बर्तौलाले मतदातासमक्ष ‘आईरक सुङ्री, भोट तोङ्गरी होइन दिनीरी’ अर्थात् ‘रक्सी खाएर भोट रुखमा होइन सूर्यमा’ भन्दै सम्बोधन गरेको र उनको सम्बोधनले आम आदिवासी, जनजाती तथा तामाङ समुदाय केवल रक्सीमा बिक्ने समुदाय हो भन्ने भाव झल्किने निकृष्ट शब्द प्रहार गरेको भनिएको छ। 
संघका अध्यक्ष कालु घलानद्वारा जारी विज्ञप्तिमा सदियौंदेखि रहेको जातीय छुवाछुत, भेदभाव, शोषणबाट मुक्तिका लागि आदिबासी जनजाती समुदायले एकत्रित भई पुर्याएकोे योगदान अनि अथक संघर्षबाट नेपालको संविधानमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुत एवम् भेदभावको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको भएपनि उम्मेदवारबाटै कुनै समुदायप्रति निकृष्ट शब्द प्रहार भएको भन्दै आपत्ती जनाएको उल्लेख गरिएको छ। 
घेदुङले निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय मकवानपुर र निर्वाचन आचारसंहिता अनुगमन समितिसमक्ष बर्तौलालाई कारबाहीको मागसमेत गरेको छ । आम समुदायमाथि आघात पुग्ने यस किसिमको अभिव्यक्ति नदिन र समाजिक एकता तथा सहिष्णुता कायम राख्नसमेत घेदुङले सबैलाई आग्रह गरेको छ । 
यस विषयमा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले उम्मेदवार बर्तौलाले त्यस किसिमको सम्बोधन गर्नु आचारसंहिता विपरित हुने र कारबाही प्रकृया अघी बढाइने बताएका छन् ।-prastakhabar

समाचार स्थानीय