जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि इजिप्टमा

जलवायु सम्मेलन कोप–२७ सम्मेलन आइतबार इजिप्टमा सुरु हुँदै छ।

सार्म ऐल शेख शहरमा हुन लागेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ। 

इजिप्टले विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने माध्यमका रूपमा बहुपक्षीय, सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ। मंसिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा छ।

गत वर्ष कोप–२६ सम्मेलनमा स्कटल्याण्डले हानि र नोक्सानी सहयोगार्थ १० लाख अमेरिकी डलरभन्दा बढी रकम दिने र यहीवर्ष डेनमार्कले एक करोड ३० लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ। 

जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्ष कोप–२६ सम्म पुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न यस वर्षको सम्मेलन पथप्रदर्शक हुने बताइएको छ। 

विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको घोषणा भइरहँदा अबका दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउन पनि सम्मेलन सहायक हुने विश्वास लिइएको संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ। 

अन्तराष्ट्रिय समाचार