मकवानपुरमा बीपी कांग्रेसका उम्मेदवारको समर्थन बानियाँलाई

हेटौंडा : मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (२) मा नेपाली कांग्रेस बीपीका समानुपातिकतर्फका तीन उम्मेदवारले उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् नेपाली कांग्रेस बीपीका समानुपातिकतर्फका उम्मेदवारहरू कुमार बल, रामकुमारी घलान र जानुकी लामाले आफ्नो उम्मेदवारी  निष्क्रिय पार्दै कांग्रेसका बानियाँलाई समर्थन गरेका हुन्।

आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्राप्त उपलब्धि गुम्न सक्ने र व्यवस्था विरोधीलाई नै बल पुग्ने खतरा देखेपछि प्राविधिक रूपमा नमिले पनि राजनीतिक रूपमा उम्मेदवारी स्थगन गरेको उनीहरूले प्रष्ट पारे।

अबको अभियान गठबन्धनबाट प्रत्यक्षतर्फका उम्मेदवार बानियाँलाई विजयी गराउने रहेको भन्दै उनीहरूले सोही अनुसार अघि बढ्न आफ्ना समर्थक, शुभचिन्तक एवं सबै मतदातालाई अपिल गरेका छन्।

कार्यक्रममा बानियाँले बल, घलान र लामा सो क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनीहरूको समर्थनले विकास चाहने जनता र कांग्रेस कार्यकर्ता उत्साहित भएको बताए।​ बानियाँले उनीहरूलाई कांग्रेसमा पुनः स्वागत गर्दै समान अवसर दिइने बताए।

मुख्य समाचार राजनीति समाचार