चुनावपछि एमाले सरकारले वृद्धभत्ता पाँच हजार पुर्‍याउँछ : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ चुनावपछि एमालेको सरकार बन्ने दाबी गरेका छन्।

आफ्नो सरकार बनेपछि जनताको लोकप्रिय काम गर्दै वृद्धभत्ता बढाएर पाँच हजार पुर्‍याउनेसमेत उनले उद्घोष गरे। काठमाडौंको धापासीमा बुधबार ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्ध–वृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए। ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले मात्रै भएको पनि उनले दोहोर्‍याए।

केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पु¥याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ।

ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताए। पोखरेल २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए।

आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।

ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।

मुख्य समाचार राजनीति समाचार