माओवादी पेण्डुलम भइसक्यो, एमाले र कांग्रेस एउटै कित्ताका पार्टी हुन् : रविन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) लाई पेण्डुलम पार्टी भएको बताएका छन्। 

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस पार्टी मात्रै हुने बताए। उनले नेकपा (माओवादी केन्द्र) अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने दाबी गरे।

उनले ३ पार्टीमध्ये दुई पार्टी एमाले र काँग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए । उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र काँग्रेसलाई जति गाली गरे पनि प्रचण्डपथमा नै हिँडेको बताए । 

उनले देशको धर्म, संस्कृति,अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताए। उनले आसन्न निर्वाचनबाट राप्रपाले प्रगतिशील जगमा देशलाई रुपान्तरण गर्ने बताए । 

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष मिश्रले काँग्रेस नेता स्व.गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबी समेत गरे।

उनले संघीयता देशको लागि उपयुक्त नभएको उल्लेख गर्दै संघीयतालाई जतिसक्दो चाँडो खारेज गर्नुपर्ने माग गरे। 

मुख्य समाचार राजनीति समाचार