धौलागिरि आधार शिविरमा दुई घोडा ६ हप्तादेखि अलपत्र

म्याग्दी : धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने  धौलागिरि हिमालको आधार शिविरमा ३९ दिनदेखि २ वटा घोडा अलपत्र अवस्थामा छन्। 

हिमाल आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेका ४५ घोडाखच्चड असोज १७ गते हिउँले पुरिएर मरेका थिए। ३९ दिनदेखि आधार शिविरमा अलपत्र परेका दुई घोडाको उद्धार अहिलेसम्म हुन सकेको छैन। 

भोकभोकै परेपछि आहाराको खोजीमा आसपासका क्षेत्रमा जाने, मरेका घोडा खच्चडलाई नै खाने गरेको त्यहाँ पुगेर फर्किएका पर्यटन व्यसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। ‘खान नपाएर र चिसोले गर्दा मर्ने अवस्थामा छन्। घोडालाई ल्याउने प्रयास गरिए पनि हिउँका कारण समस्या भएको छ’, उनले भने। आरोही र भरियासँग बाँकी रहेको खानेकुरा दिने गरे पनि त्यो पर्याप्त नभएको उनले बताए ।

आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालमा थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र सांग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका थिए । 

दशैँमा भिषण हिमपातले अलपत्र भरिया र पर्यटकलाई उद्धार गरिए पनि घोडाखच्चड अलपत्र परेपछि आहारको अभावमा केही भोकभोकै मरेर अहिले २ वटा बाँकी रहेको पर्यटन पथप्रदर्शक बताउँछन्।

अलपत्र अवस्थामा रहेका घोडाको उद्धार गर्न सम्बन्धित ट्रेकिङ कम्पनीले समेत चासो देखाएको छैन। पशु अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था र अधिकारकर्मीको नजरमा समेत धौलागिरी बेसमा रहेका जीवित घोडामा नजर पुग्न सकेको छैन्।

मुख्य समाचार समाचार