चुनाव प्रचारमा राजन मैनालीको ‘न्यू स्टाईल’ चर्चित बन्दै 

हेटौँडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यतिबेला राजनीतिक दलका उम्मेद्वारहरु दलबल सहित चुनावी सभा तथा घरदैलोमा ब्यस्त बनेका छन् । दल मात्र हैन चुनावमा स्वतन्त्र उठेका ब्यक्तिहरुपनि समूह लिएरनै चुनावमा उत्रेका छन् ।

तर मकवानपुरमा एकजना दलका उम्मेद्वारले भने फरक शैलिमा चुनावी अभियानलाई सञ्चालन गरिरहेका छन् । गाँजालाई बैधानिक बनाईनुपर्ने मुल मुद्धा सहित मैदानमा उत्रिएका राप्रपाको तर्फबाट क्षेत्र नंबर २ का उम्मेद्वार राजन मैनालीले चुनाव प्रचारलाई फरक ढंगबाट सञ्चालन गरेका छन् । मैनालीले निर्वाचन आयोगले वितरण गरेको उम्मेद्वारको परिचयपत्र देखिने गरि माला लगाउँदै एउटा हाते माईकको प्रयोग गरि गाउँ सहरमा पुगेर आफ्ना अजेण्डाहरु मतदातालाई सम्झाउने काम गरेका छन् ।
उनको कार्यक्रममा अरु दलको जस्तो तामझम देखिदैन भने कुनै मञ्च, सभाध्यक्ष र वक्ताहरु पनि देखिदैन । राजालाई आदर्श मान्ने पार्टीको उम्मेद्वार भएपनि मैनालीको चुनाव प्रचारको तरिका भने कम्युनिष्ट झल्कने स्थानीय मतदाताहरुले बताएका छन् । थाहा नगरपालिकाका एकजना मतदाता भन्छन ‘उ बेला यहाँका रुपचन्द्र विष्टले यसरीनै हाते माईक लिएर टोलटोलम भाषण गर्दै हिडेको झल्को मैनालीको चुनाव प्रचारले दिएको छ ।’

मैनालीको चुनावी अजेण्डापनि अन्य दलको जस्तो धेरै थरि छैन् । भौतिक निर्माण, स्वास्थ्य खानेपानी, शिक्षा आधारभुत बस्तु रहेको र त्यो निरन्तर विकास हुँदै जाने भन्दै मैनालीले यो पटक गाँजाको मुद्धालाई प्रमुख बनाएका छन् । आफुले उम्मेद्वारी दिएको क्षेत्र नंबर २ मा गाँजाको कारण हजारौ युवाहरु अहिले जेलमा छन भने बैध भएको अवस्थामा लाखौ रुपैयामा विक्री हुने गाँजा अहिले गाउलेको लागि ‘नखाउ भने दिनभरीको शिकार। खाउँ भने कान्छा बाहुको अनुहार’ भन्ने उखान जस्तै भएको भन्दै आफुले सो मुद्धा लाई महत्वको साथमा उठाएको बताए ।
गाजालाई बैध बनाउन सके मकवानपुरको मात्र नभएर देशकै आथिर्क अवस्थामा ठुलो परिवर्तन आउने बुझाई मैनालीको छ । नेपालको गाजालाई अबैध बनाउन दबाब दिने अमेरिका सहित पश्चिमाका धेरै मुलुकहरुले गाँजा प्रतिवन्ध फुकुवा गरिसकेको बताउँदै उनले नेपालले पनि अब ढिला गर्न नहुने बताउँछन् ।-khabarbreake

मनोरञ्जन राजनीति समाचार