आचारसंहिताको धज्जी उडाउँदै दलहरु, उल्लंघन गर्नेमा रवि लामिछाने पनि! 

वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछाने बिहीबार पोखराको आम सभामा सहभागी हुन पोखरा आए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मोटरसाइकल र्‍यालीसहित आमसभामा सहभागी भए। जुन निर्वाचन आचारसंहिता विपरीत हो।

निर्वाचन आचारसंहिताले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, बयलगाडा, रिक्सा, टाँगा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचार गर्न रोक लगाएको छ।

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को उपदफा ९१० देहाय ‘द’ मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचार गर्न नहुने उल्लेख छ।

एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की २ बाट उम्मेदवार बनेकी विद्या भट्टराई र प्रदेश सभा सदस्यका लागि कास्की २ प्रदेशसभा ‘२’ बाट उम्मेदवार बनेकी मीना गुरुङ शनिबार पोखरा ९ नयाँबजार क्षेत्रमा घरदैलो गर्दै थिए। उनीहरु साउन्ड सिस्टम, दलको झन्डासहित सवारी साधन प्रयोग गर्दै घरदैलो गरिरहेका थिए। उक्त क्षेत्रमा शनिबारै गठबन्धनका उम्मेदवारहरु श्रीनाथ बराल, बिन्दु थापाको प्रचार गर्दै चर्को ध्वनिसहित गाडी गुडिरहेको थियो।

निर्वाचन नजिकिएसँगै कास्कीमा निर्वाचन आचारसंहिता उल्लघंन गर्नेको प्रतिस्पर्धा नै चलेको छ। दलहरुले निर्वाचन आचारसंहिताविपरीत सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिह्न भएका स्टिकर, साउन्ड सिस्टम प्रयोग गरेको दिनहुँजसो नै देख्न सकिन्छ।

निर्वाचनको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका कार्यहरु पनि बढेका छन्। तर, दलहरु त्यसलाई स्वीकार गर्न तयार छैनन्।

नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्री आफ्ना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरीतको कार्य नगरेको दाबी गर्छन्। ‘हामीले आचारसंहिताको पालना गरेका थियौं, अरु राजनीतिक पार्टीहरुले पालना गरिएको देखिएन, नदेखिएपछि राजनीतिक रुपमा हामीहरुलाई कार्यकर्ताबाट प्रेसर भइसकेपछि पनि हामीले रोक्ने काम गर्‍यौं,’ उनले भने।

पार्टीबाट केही त्रुटि भएको भए पनि सच्याउनु पर्ने अधिकारीको भनाइ छ। ‘निर्वाचन प्रचारका क्रममा के भएको रैछ म बुझ्छु। आचारसंहिताको पालना गर्नुपर्छ भन्ने मान्यता नै छ, कहिँ त्रुटि भएको छ भने सच्च्याउनुपर्छ,’ उनले भने।

निर्वाचन आयोगबाट आचारसंहिता उल्लघंन गर्नेहरुलाई स्पष्टीकरण सोध्ने काम समेत नगरेको एमाले सचिव अधिकारीले बताए। ‘मोटरसाइकल र्‍याली भयो, त्यो पनि हामीले कुरा गर्‍यौं केही भएन, अन्य पार्टीले गरेका उल्लघंनका सामग्री लगेर पेस गर्‍यौं। त्यसको पनि केही एक्सन भएन,’ उनले भने, ‘त्यसो भएर हामीलाई शंका लागेको छ। गठबन्धनका पार्टीहरुबाट निर्वाचन आयोग प्रभावित त भएको छैन रु त्यो पो शंका लाइराखेको छ।’

प्रचारमा सहभागी अधिकांशलाई आचारसंहिताबारे थाहा नहुँदा उल्लघंनका घटना बढेको पृथ्वीनारायण क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक कपिलनाथ दाहालले बताए।

‘उम्मेदवारको प्रचारमा हिँड्नेलाई सोध्ने हो भने उनीहरुलाई आचारसंहिताका प्रावधानहरु थाहा नै छैन, के–के छ राजनीतिक दलहरुले पालना गर्नुपर्ने, कति खर्च गर्न पाउनुहुन्छ, कति जना हिँड्न पाउनुहुन्छ तपाईंलाई थाहा छरु भनेर सोध्ने हो भने मान्छेहरुलाई थाहा छैन, जसले उल्लघंनका घटना बढेको छ,’ उनले भने।

निर्वाचन आयोगले पनि सही भूमिका निर्वाह नगर्दा आचारसंहिता उल्लघंन भएको प्राध्यापक दाहाल बताउँछन्। ‘उल्लघंनका घटना बढ्नुको कारण के हो भने निर्वाचन आयोगले आचारसंहिता बनाइदियो उसको ड्युटी सकियो। उनीहरुले राजनीति दललाई भनेको पाइँदैन, माथिल्लो तहले हेरेको सतर्क हुने आफ्नो ठाउँमा होला, वेबसाइटमा कतिले हेर्छन्, कतिले चासो राख्छन् त्यसकारण चुनावमा हिँड्ने नै हो भनेर मानिसहरु हिँड्छन्। के गर्न पाइन्छ के गर्न पाइन्न त्यो थाहा हुँदैन,’ उनले भने।

निर्वाचन आचारसंहिता सामाजिकीकरण नहुँदा कार्यान्वयनमा समस्या आएको प्राध्यापक दाहाल बताउँछन्। ‘यो बनाएको पनि राजनीतिक दलहरुले हो, उल्लघंन गर्ने पनि राजनीतिक दलहरुले नै हो। बनाउने बेला सहमति गरिहाले, कतिपय कुराहरु लिएर हिँड्दा अली अप्ठेरो हुन्छ। माथिल्लो लेभलबाट बनाइन्छ, तर कार्यान्वयन हुने चाहिँ फिल्ड लेभलबाट हो। फिल्डमा पुगिसकेपछि कार्यान्वयन हुन गाह्रो हुन्छ,’ दाहालले भने।

आचारसंहिता अनुगमन समिति सदस्य राम शर्मा आचारसंहिता उल्लघंनका घटनाहरुमा निरन्तर अनुगमन गरिरहेको दाबी गर्छन्। ‘उल्लघंनका उजुरी तथा गुनासोहरु संकलन गरेका छौं। समाधन हुने विषयलाई समाधान गरिएको छ। समाधान नहुने विषय आयोगमा पठाइएका छौं,’ उनले भने।

आचारसंहिता उल्लघंन गर्नेलाई चुनावपछि पनि कारबाही हुने सदस्य शर्माले बताए। ‘आचारसंहिता पालना गर्ने हामी सबैले हो, उल्लघंन गर्नेलाई कारबाही हुन्छ, त्यसको कानुनी प्रक्रिया छ,’ उनले भने, ‘केही गुनासा आएका छन्। चुनावपछि पनि कारबाही हुन्छ।’नेपाललाइभबाट

मुख्य समाचार राजनीति समाचार