हेटौंडामा एम्बुलेन्सले म्यादी प्रहरीलाई ठक्कर दियो

मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगर-१९ बस्तिपुरमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

आइतबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना४च १४० नम्बरको एम्बुलेन्सले ईलाका प्रहरी कार्यालय नेवारपानीमा म्यादी प्रहरीको रुपमा कार्यरत ४२ वर्षीय राम बहादुर घलानलाई ठक्कर दिएको हो ।

एम्बुलेन्सको ठक्करबाट घाइते भएका घलानलाई उपचारको लागि सोही एम्बुलेन्समा राखेर उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते घलानको दाहिने खुट्टामा र बाँया आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

समाचार समाज स्थानीय