कुमारी मोक्तानको जित सुनिश्चित भएको स्थानीयको दाबी


राजकुमार के.सी.
थाहा नगर २८, कात्तिक/नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले आईतबार उत्तरी मकवानपुरको पाँच वटा चुनाबी कोण सभालाई सम्बोधन गर्नु भएको छ । कोण सभालाई सम्बोधन गर्दै उहाँले आफु लगायत गठबन्धनका उम्मेद्वारहरु निर्वाचित भएपछि स्थानीय क्षेत्रका सबै समस्याको पहिचान गरी समाधान एवं विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएको उहाँले आफु प्रदेश सभा सदस्य र केही समय मन्त्री भएपछि यस निर्वाचन क्षेत्रको विकासको लागि धेरै बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अझै यस क्षेत्रमा धेरै बजेट र विकासको आवश्यक छ, त्यसका लागि मलाई र गठबन्धनलाई अमुल्य भोट दिनुहोस् ।’

विगतको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य तथा स्थानीय तह निर्वाचन २०७९ को नतिजा र चुनाबी कोण सभामा उत्साहजनक जनसहभागितालाई हेर्दा कुमारी मोक्तान लगायत गठबन्धनका उम्मेद्वारहरुको जित सुनिश्चित रहेको नेकपा माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जमिन दियालीले बताउनुभयो । मोक्तानले यस क्षेत्रका लागि बजेट विनियोजन गरी सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको विकासमा उल्लेख्य योगदान पुर्‍याउँनु भएकोले कुमारी मोक्तानको जित सुनिश्चित भएको दियालीले बताउनुभयो ।

आईतबार थाहा नगरपालिकाको वडा नम्बर ४ को ठुलो माखु र रुप्से तथा वडा नम्बर ५ को पिङडाँडा, भट्टीडाँडा र खोलाखर्कमा चुनाबी सभा आयोजना गरिएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, नेपाली काँग्रेस थाहा ४ का वडा सभापति श्रीकृष्ण केसी लगायतले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई भोट दिई जिताएर थाहा नगरसँगै जिल्ला, प्रदेश र देशको विकासमा योगदान दिन सबैलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेश मुख्य समाचार राजनीति