कमल थापाले मतदातालाई पनि धोका दिन्छः दिपक सिंह 

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपकबहादुर सिंहले आफ्नै पार्टीका नेता कार्यकर्तालाई धोका दिने कमल थापाले जनतालाई पनि धोका दिने आरोप लगाएका छन् । 
४६ बर्ष संगै रहेको आफूलाई लोप्पा खुवाउने राप्रपा नेपालका अध्यक्ष थापाले मतदातालाई पनि लोप्पा खुवाउने बताएका छन् । सोमबार पदमपोखरीमा भएको राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले कमल थापा विश्वास गर्न लायक नेता नभएको आरोप लगाएका हुन् । 
पार्टीको आन्तरिक चुनावमा हार व्यहोरेपछि पार्टी छोडेर पुरानो पार्टी ब्यूँताएको र फेरि चुनाव चिह्न तीर छोडेर एमालेको चुनाव चिह्नमा चुनाव उठ्ने थापाबाट जिल्लाको विकास सम्भव नभएको बताए । 
‘पदको लागि पार्टीको मूल्य मान्यतालाई बिर्सेर काम्रेड बन्न गएकाले जिल्लाको विकास गर्ला भनेर विश्वास गर्नु बेक्कार छ’, सिंहले भने । अहिलेको चुनावलाई लिएर राप्रपा नेपालका कार्यकर्ताहरु अन्यौलमा रहेको उनको भनाई थियो । पार्टीको अध्यक्षमा निर्वाचित जनजातिको छोरा राजेन्द्र लिङ्देनलाई स्वीकार्न नकेर एमालेको शरणमा जाने कमल थापालाई मकवानपुरका जनजाति समुदायले भोट हाले गलत हुने उनको भनाई थियो । 
पदमा रहँदा केही काम नगरेकाहरु अहिले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा आएको उनको आरोप थियो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, अभिनेत्री मनिषा कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

मुख्य समाचार राजनीति समाचार