एयरलाइन्सको लापरबाही : कतार हिँडेका नेपालीलाई विमानस्थलबाट फर्काइयो

 विराटनगर घर भएका  विनय दुलाल बिहीबार राति ८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे। रोजगारीका लागि दुबई जान लागेका दुलालले राति ११ बजेको टिकट काटेका  थिए। 

नेपाल एयरलाइन्सको टिकट काटेका दुलाललाई प्लेन चढ्ने समयमा विमानस्थलबाट फर्काइयो। कतारको दोहा जान लागेका यात्रुहरूलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै फर्काइएको उनले बताए। रोजी रोटीको जोहो गर्न  घरबाट टीका माला लगाएर हिँडेका थिए।  दुबईबाट १ महिनाको बिदामा आएका दुलाललाई दुबई पुग्ने चिन्ता छ। उनले भने, ‘बिदा लिएर नेपाल आएको थिएँ। कम्पनीले तोकेको समयमा नपुग्दा रोजगारी नै गुम्ने चिन्ता छ।’

सामान्यतया सार्वजनिक बसले त सिट क्षमताभन्दा बढी टिकट काट्न पाउँदैन। उनले थपे, ‘हामी त अन्तरराष्ट्रिय उडान गर्दै थियौँ। सिट फुल भयो भन्दै यात्रुलाई अन्तिम अवस्थामा विमानस्थलबाट फर्काउनु विमानस्थलको कुन तहको लापर्वाही हो?’ विमानस्थलबाट फर्काएर सुन्धाराको होटलमा राखिएको उनले बताए।

नेपाल एयरलाइन्सले शनिबार राति पठाउने भन्दै आश्वासन दिएको उनले सुनाए। उनीसँगै झापाबाट रोजगारीका लागि दुबई जान हिँडेका अनिल थापा पनि अलपत्र परे। एयरलाइन्सले आफूखुसी बिनाजानकारी यात्रुलाई अलपत्र पारेकाले समस्या भएको उनले बताए। एकातिर देशमा रोजगारी नपाएर रोजगारीको खोज्न पेट पाल्नका लागि विदेश जान्छु भन्दा पनि सरकारले नहेरेको उनले गुनासो गरे। उनले भने‚ ‘देशमा रोजगारी छैन। हामीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ अनि फेरि हामीले आफ्नै खर्चमा काम गर्न विदेश जान्छु भन्दा पनि किन समस्यामा पारिन्छ?’   

गत राति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरूलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरू शुक्रवार बिहान विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन्। विमानस्थलबाट फर्काइएका झापाका किरण शिवाकोटी प्राधिकरणमा ध्यानाकर्षण गराउन पुगे। एयरलाइन्सले आफूलाई सहज बनाउने आशा सहित उनी कार्यालय पुगेका हुन्।

मुख्य समाचार