हेटौंडाको गोरक्षश्वरमा श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ हुने

हेटौंडा – हेटौडाको गोरक्षश्वर राप्तीतटमा हरेक पाँच/पाँच वर्षमा आयोजना हुँदै आएको श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आगामी बैशाख १ देखि ७ गतेसम्म हुने भएको छ । नयाँ वर्षको अवसर पारेर पाँच/पाँच वर्षको अन्तरालमा आयोजना हुने महायज्ञलाई यसवर्ष पनि निरन्तरता दिइने भएको छ । शनिबार हेटौडामा पञ्चवर्षीय महायज्ञ तयारीका लागि मूल समारोह समिति चयन गरिएको छ ।

मुलसमारोह समितिको संयोजकमा उद्योगपति/समाजसेवी अजेयराज सुमार्गीलाई चयन गरिएको छ । गोरक्षश्वर क्षेत्र विकास समिति अध्यक्ष उत्तम शर्मा ढकालको अध्यक्षतामा भएको भेलाले सुमार्गीको मुल संयोजकत्वमा पञ्चवर्षीय महायज्ञको तयारी समिति समेत बनेको हो । सुमार्गीकै आयोजनामा हेटौंडामा २०६० सालदेखि हरेक पाँच वर्षमा महायज्ञ आयोजना हुँदै आएको थियो । भेलाले अन्य विभिन्न समितिहरु चयनका लागि तयारी तीव्र पारेको छ ।

नयाँ वर्षको दिनदेखि आरम्भ हुने महायज्ञमा सवा ५ करोड दीपप्रज्वलन गरीने, खैंजेडी भजन प्रतियोगिता गरीने लगायतका धार्मिक कार्यहरु हुने अध्यक्ष ढकालले बताए । महायज्ञमा धार्मिक प्रवचनसँगै बिभिन्न झाँकीहरु प्रस्तुत हुने, हेटौडाको राप्तीतटलाई धार्मिकमय बनाइने भएको छ । महायज्ञ सफल बनाउन मकवानपुरबासीले सकेको तन, मन, धन लगाउन आग्रह गरिएको छ ।

भेलामा थाहा नगरपालिकाका पूर्वनगरप्रमुख लवसेर विष्ट, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, समाजसेवी अस्मिता सुमार्गी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मकवानपुरका व्यवसायीहरु, धार्मिक संघसंस्थाका प्रतिनिधिलगायत सहभागी थिए ।-prahaekhabar

समाचार समाज